दिनेश थापा, सिन्धुपाल्चोक, ३० जेठ
सेतो सर्ट, नीलो फ्रक र सेतै सुरुवालमा तुने चप्पल पड्काउँदै एक घण्टाको बाटो हिँडेर उनी सधैं विद्यालय आउजाउ गर्छिन् ।
उनी अन्य विद्यार्थीले झैं किताब, कापी र झोला बोक्छिन् । तर, उनको एउटा काम निकै फरक छ । उनी तीन वर्षीय छोरा बोकेरै विद्यालय आउँछिन् । तर उनी छोरालाई विद्यालय पुर्याउन आएकी भने होइनन् । बरु उनी पढेर केही गर्ने ऊर्जासहित विद्यालय आएकी हुन् ।
अरु विद्यार्थी टिफिनमा खाजा खान सुरु गर्छन् । खाँदै खेल्छन् । यताउति कुद्छन् । तर, उनी अर्थात् आशामाया छोरालाई दूध चुसाउन र खाजा खुवाउन व्यस्त हुन्छिन् ।
बालविवाहका कारण निम्तिने उल्झनको जालोमा छिन्, आशामाया । खेल्ने रहर मार्नुपर्ने बाध्यता छ । जीवनोपयोगी सीप, ज्ञान र क्षमता सिक्ने र विकास गर्ने बेलामा सन्तानको हेरविचारमा रुमलिनुपरेको छ । तर, उनले हिम्मत हारेकी छैनन् । उनी समस्यालाई पन्छ्याएर नियमित विद्यालय आउँछिन् ।
कक्षा ८ मा पढ्दै गर्दा आशामायाको विवाह भएको थियो । उनी अहिले नेपाल राष्ट्रिय मावि कर्थलीमा कक्षा १० मा अध्ययनरत छिन् ।
अन्जानमै आमा
भाउजूको भाइले उनीमाथि आँखा लगाए । तिनले फकाए । आश्वासनको मिठाइ खुवाए । उनी बिस्तार मोहित भइन् । १६ वर्षे उमेरमा उनलाई सरसल्लाह दिने कोही थिएनन् । विवाहबारे गुह्य कुरा जान्दा नजान्दै उनको विवाह भयो ।
पुस्तक थन्काएर आशामाया नयाँ संसारमा रमाउने सपना बुन्दै बुन्दै श्रीमानको घर धान्न गइन् । तर, उनको सपना नफुक्ने गरी गुजिल्टियो । विवाह भएको वर्ष दिन नबित्दै उनी गर्भवती भइन् । श्रीमानको व्यवहार परिवर्तन भयो । श्रीमान्ले बिर्सिदिए, वाचा–कसम ।
श्रीमान् मद्यपानमा निर्लिप्त हुन थाले । श्रीमान्ले उनीमाथि हातपातसमेत गरे, कैयौंपटक ।
श्रीमानको ज्यादती सहन निकै गारो भयो । उनी रोइन् । उनलाई के गरुँ के गरुँ भयो ?
श्रीमानकाे असयोग र घृणाबीच आशामायाले फुलाइन्, फूल । फूल ढकमक्क भएर फक्रिएको छ । जुन फूल उनीसँगै विद्यालय जान्छ, आउँछ ।
आशामायाको आत्मबल
सहमतिका अनेक प्रयास गर्दा गर्दै पनि उनी श्रीमानसँग बस्न नसक्ने भइन् । त्यसपछि उनको पाइला सोझियो माइतीघर । माइत आउँदा समेत उनी चिन्ताको भुमरीमा हराएकी थिइन् । यस्तो बेला सहारा दिन आइपुग्यो, सुन्दर भविष्यका लागि सुन्दर बालापन परियोजना । परियोजनाले उनको जिन्दगीमा आशाका नयाँ बुट्टाहरु कुँदिदियो ।
परियोजनाले जोखिम उन्मुख ठानेर उनलाई २० हजार दिएको थियो । त्यो बीउ पुँजीबाट केही कुखुरा किनिन् । कुखुरापालन व्यवसाय फस्टाउँदै गयो । उनको मूल धनमा थपिए, केही हात्तीहरु । यसपछि उनले बाख्रापालन सुरु गरिन् । उनले बाख्राबाट पनि राम्रै आम्दानी गरिन् ।
बाख्रा बेचेर थोरे (भैंसी) किनिन् । उनले थोरेको स्याहार गर्दा काखको छोरो सम्झिइन् ।
थोरे ब्याउँछ । र, दूध बेचेर पढाइ र घरखर्च टार्ने योजना थियो मनमा । त्यसैले उनी बिहानै घाँस काटेर थोरेलाई खुवाउँथिन् । स्कुलबाट फर्केपछि घाँस काट्न गइहाल्थिन् ।
हुरी आयो सर....
विद्यालयबाट फर्केर आएपछि उनी घाँस काट्न खेतमा गइन् । डोकोभरि घाँस काटिन् । सपना गुन्दै गुन्दै उनी घर आइपुगिन् । हेरिन्, मायाले । उनी झस्किन् । छामिन्, थोरेको जीउमा । थोरेले छाडिसकेछ, संसार ।
उनी त्यो दिन सम्झँदै भन्छिन्, ‘रातभर छोरालाई खोकिलामुनि हालेर थोरेको किलो हेर्दै रोइरहें ।’
उनको थोरे मर्नुको कारण रहेछ, महामारी । छरछिमेक वरपरका भैंसीसमेत बिरामी पर्न र मर्न थालेपछि थाहा पाइन् उनले ।
बेलैमा रोगबारे जानकारी पाएको भए थोरे बचाउन सक्ने थुकथुकी उनमा अझै छ ।
छोरालाई खाजा खुवाउने पिरालो
करिब एक घण्टा पैदल हिँडेर उनी विद्यालय पुग्छिन् । बच्चा बोकेर छिटो हिँड्न सक्ने कुरै भएन । उनी भन्छिन्, ‘वर्षा लागेपछि त झन् धेरै दुःख हुन्छ । कक्षा १० को पढाइ हेलचेक्रयाइँ गर्ने कुरा पनि भएन । कोठा भाडामा लिएर पढ्न बस्नु फलामको चिउरा नै हो ।’
केटाकेटी जे देख्यो, त्यही रहर गर्छन् । नदिए रोइहाल्छन् । किनिदिने पैसा नहुँदा कहिलेकाहीँ आशामाया करेसामा गएर रुन्थिन् । उनी भन्छिन्, ‘अलि सानो छँदा त करेसामा लगेर दूध खुवाउँथें । केही बेर भुलाएर फकाउँथें । अहिले त ऊ पनि ठूलो भयो । दूध पनि आउँदैन कसरी फुलाउनू । अनि रुनुबाहेक केही उपायै हुँदैन कहिलेकहीँ त ।’
आशामायाका आसा
विगतका घटना सम्झेर चिन्ता गरिरहन चाहँदिनन्, आशामाया । उनी बाँकी जीवन उचित प्रकारले जिउने योजना छिन् ।
छोराको जन्म दर्ता र आफ्नो नागरिकता नबनेकामा उनी दुखी छिन् । र, पढ्ने रहर स्थानीय ग्रामीण महिला सिर्जनशील परिवारले सहयोग गरेर पूरा गरिदिएकामा उनी खुसी छिन् । उनी भन्छिन्, ‘कम्तीमा १२ कक्षासम्म पढ्ने रहर छ । त्यसपछि केही काम पनि पाइएला र अलि सजिलो होला कि भन्ने आस छ ।’
उनी आत्मसुरक्षाका लागि तेक्वान्दो खेलमा पनि संलग्न छन् । नगरस्तरीय तेक्वान्दो प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् ।
बालविवाहले शरीर दुर्बल
बालविवाहको असर र प्रभावबारे पहिले कसैले पनि जानकारी नगराएको उनले बताइन् । उनी भन्छिन्, ‘अहिले धेरै कुरा त बुझें तर ढिला भइहाल्यो । बालविवाह गरेका कारण शरीरमा कुनै समस्या भएको शंका छ । चेकअप गर्न मन छ तर आर्थिक समस्या छ ।’
उनी बालविवाहबारे जनचेतना फैल्याएर हिँड्ने तयारीमा छिन् । उनी भन्छिन्, ‘म त यस्तै भएँ तर अरु दिदी बहिनीले मेरै जस्तो पीडा भोग्नु नपरोस् ।’
Source: https://shilapatra.com (बिहिबार, जेठ ३०, २०७६)